लुओयाङ : फूलै फूलको सहर

इमीले सुनाइन्, ‘हामी गलत समयमा लुओयाङ आएका छौं ।’

मैले सोधें, ‘हल्का वर्षाले सहर पखालिएको छ । वायुमण्डलमा शीतलता छ । सडक सफा छ । कति मनमोहक छ लुओयाङ सहर । फेरि किन गलत समय भयो ?’

तर, इमीले मेरो कुरामा चित्त बुझाइनन् । उनले थपिन्, ‘यो त बगैंचा सहर यो, जो ढकमक्क फूलहरुले सुशोभित हुन्छ । खासगरी पेओनी फूलहरुले यो सहरलाई साँच्चै रुपवती बनाइदिन्छ । तर, हामी अलि ढिला आइपुग्यौं । किनभने पेओनी फूल अप्रिल र मेको बीचमा फुल्ने गर्छ ।’

इमी हाम्रो पथप्रदर्शक हुन्, हुवे प्रान्तको उहान रिर्सच इन्सटिच्युट अफ पोष्ट एण्ड टेलिकम्युनिकेसनको तर्फबाट । सायद उनी पनि पहिलो पटक लुओयाङ आएकी हुन् । त्यसैले त उनलाई थकथकी छ पेओनी फूलको  याममा आउन नपाएकोमा । हामी जुनको दोस्रो साता हेनान प्रान्तको लुओयाङ पुगेका थियौं ।

मैले नेपाल चीन हिमालय फ्रेन्डसिप सोसाइटीका महासचिव रिनन् पोखरेललाई सम्झिएँ । उनले हामी चीन उड्ने बेला भनेका थिए, ‘तपाईंहरुको भ्रमण सिटीको सेड्युलमा लुओयाङ पनि छ । यो नयाँ सहर हो, असाध्यै सुन्दर छ ।’

लुओयाङ सहरमा हामी पुग्दा ढकमक्क पेओनी फूलले त स्वागत गरेको थिएन । यद्यपि यो सहरमा बिछट्टै सुन्दरता भने थियो । कुनै सिपालु चित्रकारले निकै मिहेनतसाथ बनाएको ल्यान्डस्केप जस्तो ।

फराकिला सडक । माझमा फूल बगैंचा । चोक-चोकमा छरितो प्रतिमाहरू । ठाउँ–ठउँमा पार्कहरु । मन यसै यसै आनन्दित हुने ।

हामीकहाँ त सहरको चित्र पनि भिडभाड, हो-हल्ला, दुर्गन्ध, ठेलमठेल । आफैमा निस्सासिएको जस्तो । हाम्रो सहरमा हिँडडुल गर्दा रक्तचाप बढ्छ । तर, लुओयाङमा हाम्रो पाँचै इन्द्रीय जागरुक हुन्छ । अनि मन आनन्दित ।

लुओयाङको यात्रा, पेओनी फूलको बखान

हामी लुओयाङमा पुग्दा घडीले चार बजेको संकेत गरिसकेको थियो । जुन महिनाको दोस्रो साता ।

लुओयाङको रेल वे स्टेशनमा हामीलाई लिन आएका थिए स्थानीय पथप्रदर्शक, जिम्मी । उनको पछि लागेर हामी टुरिष्ट बससम्म पुग्यौं । बसले हामीलाई पुर्‍यायो, लुओयाङ संग्राहलय । संग्राहलयसम्मको यात्रामा पथ प्रदर्शक जिम्मीले पेओनी फूलको बखान गरिरहे ।

लुओयाङको मङ्शन पर्वत पेओनी फूलको उद्गम रहेछ । जिम्मी भन्दै थिए, ‘पेओनी फूल साँच्चै गजब हुन्छ । असाधारण गोलाकार, अत्यान्त चमकदार यो फूल चीनभर प्रिय छ । यसलाई हामी समृद्धि, खुसी र शान्तिको प्रतिक मान्ने गर्छौं ।’

यो फूलले धन र पदको समेत प्रतिनिधित्व गर्छ भन्ने विश्वास रहेछ स्थानीयवासीमा ।

यात्राका क्रममा हामीले पेओनी फूल त देख्न पाएनौं तर सो फूलको जन्मथलो पुग्दा मनमा कता कता मादकता चढेको अनुभूत भयो । बसबाट ओर्लिएपछि म अन्य साथीहरुलाई छाडेर जिम्मीको पछि लागें, किनकी मलाई पेओनी फूलहरुबारे अझैपनि धेरै सुन्नु थियो । उनको बखानले मेरो धीत मरेकै थिएन ।

सहकर्मी गोकर्ण र किरन गुनासो गरिरहेका थिए, ‘तपाईं त हामीबाट किन टाढा बस्नुहुन्छ ?’

पावरवाला चश्मा भित्राबाट आँखा तन्काएर हामीलाई नियालिरहने शालिन र भद्र स्वभावका थिए जिम्मी । मलाई लागेको थिएन जिम्मीसँग लुओयाङ सहर र फूलको बारेमा यतिधेरै जानकारी लिन सकिन्छ । तर, उनी स्वयम् फूलहरुको खुला पुस्तक रहेछन् ।

उनले सुनाइन्, ‘पेओनी फूल लुओयाङमा मात्र हैन, चीनको सेङडोङ, सान्छे, हुवेइ, यनहुई, हेनान, सिचुआनलगायतमा पनि पाइन्छ । तर,लुओयाङको मङ्शन पर्वत पेओनी फूलको जन्मथलो भएकैले यो यहाँ विशेष छ । पेओनी फूल ठाउँ अनुसार फरक फरक समयमा फुल्ने गर्छ ।

यो फूलको बारेमा जति सुन्दै गयो, उत्तिनै महाभारत लाग्ने । फूल अनेकथरी रंगमा फूल्ने रहेछ । यसको प्रजाति मात्र पाँच सयभन्दा बढी ।

लुओयाङकै स्थानीय हुन्, उनी । चश्माको सिसा पुच्छदै उनी भन्दै थिए, ‘पेओनी फूल कुनै समयमा चीनको राष्ट्रिय फूल थियो । लुओयाङमा पेनी फूलको अतिरिक्त चीनी गुलाब, ट्यूलिपहरू, ल्याभेन्डरलगायत अरू धेरै फूल पाइन्छन् ।’

फूलै फूलको यो सहरमा धेरै कलाकृति कुँदिएको संसारकै सबैभन्दा ठूलो ढुंगा, बुद्धिष्टहरुको पवित्र स्थल ह्वाइट हर्स (सेतो घोडा) टेम्पल, लुओयाङ म्युजियम थप आकर्षण रहेछ ।

सैलुङको यो गुराँस, लुओयाङको त्यो पेओनी

चीन पुगेको दोस्रो हप्ता मलाई मेरो जन्मथलो दोलखाको यादले सताउँदै थियो । पेओनी फूलको बखान सुनिरहँदा मेरो स्मृति भने दोलखा, कालिन्चोक, शैलुङ, खरिढुङ्गा र खावाडाँडामा फन्को लगाइरहेको थियो । त्यहाँका डाँडा कन्दरालाई ढकमक्क बनाउने गुराँस, चिमललाई म सम्झिरहेको थिएँ ।

मेरा मनका तरङ्गित भावनाहरु लुओयाङबाट काल्पनिक यानमा सवार भएर शैलुङ, खरीढुङ्गा र खावाडाँडालाई फेरो मार्दै कालिञ्चोक पुग्यो । मैले सम्झिएँ लुओयाङ र दोलखालाई फूल सिउरिएर मित लगाईदिन पाए ! पेओनी र गुराँसलाई मिलन गराईदिन पाए !! लुओयाङ र दोलखाको सांस्कृतिक विशेषतालाई जोडिदिन पाए !!! आखिर सिमाले त दोलखा र चीनलाई त्यसैपनि जोडिदिएकै छ ।

लुओयाङसँग दोलखाको मितेरी साइनो गाँसिने हो भने व्यवसायिक हातेमालो पनि पो हुने थियो कि ? किनभने लुओयाङले फूलको व्यवसायिक खेतीबाटै प्रशस्त आम्दानी गरिरहेको छ । दोलखा गुराँस, चिमाल र अन्य धेरै प्रजातिका फूलहरुले सुन्दर त छ । तर, त्यसबाट लाभ उठाउन सकिएको छैन । लुओयाङका सहर फूलहरुले सजिएका छन् । दोलखाका केही घरका अटाली र बरण्डामा फूलका गमलाले सजिएका भएपनि सहरको सौन्दर्यमा यसको ठोस प्रभाव देखिदैन ।

लुयोयाङको धङधङ्ती बोकेर कालिन्चोक उक्लिंदा

म नेपाल फर्किएँ । अनि मलाई कालिन्चोक पुग्ने हतारो भयो । आँखाभरी लुओयाङको सौन्दर्य बोकेर, मनभरी कालिन्चोकको सुगन्ध साँचेर म घरबाट निस्किएँ ।

यसपालि व्यवसायी हरि ओलीले मेरो आग्रहमा कालिञ्चोक पुग्ने योजना बनाएका थिए । उनी कालिञ्चोकको कुरीमा सुनपाती होटल सञ्चालक हुन् ।

बागमती प्रदेश सांसद भरत केसी र पत्रकार जीवन लामासहित हामी कालिञ्चोक गयौं साउन २ गते ।

पेओनी फूलको जन्मथलो चीनको लुओयाङ पुगेको दिन पनि सिमसिम पानी पर्दै थियो । पानीका थोपा लुओयाङको पार्कमा फुलेका फूलको थुँगाहरुमा बजारिदा आवाज हैन आकार निस्कन्थ्यो सप्तरङ्गी इन्द्रेणीको । त्यसैगरी सिमसिम पानी पर्दै थियो कालिञ्चोकमा । हरिया पहाडमा टल्किएको सुनपाती र बुँकी फूलका रङ्गहरुमा पानीको बुँदहरुले त्यसैगरी सप्तरङ्गी इन्द्रेणी बनिरहेको थियो ।

गुराँस र चिमालको मौसममा कालिञ्चोकको सौन्दर्य अझ बढी निखारिएको हुन्छ । पेओनी फूलको याममा लुओयाङ सहरमा आउने निखार जस्तै सायद ।

प्राकृतिक सुन्दरतामा लुओयाङ र पेओनी फूलको जन्मथलो मङ्सन पर्वतसँग दोलखा र कालिञ्चोक, शैलुङ, खरीढुङ्गा, खावाडाँडा कुनै पनि मानेमा कम छँदै छैन । तर व्यवस्थापनमा भने हामी धेरै पछि छौं । प्रकृतिले लुओयाङलाई फूलको सौन्दर्य दिएको छ, लुओयाङवासीले त्यसलाई सजाएका छन्, स्यहारसुसार गरेका छन् । प्रकृतिले दोलखालाई पनि फूलको सौन्दर्य दिएको छ तर हामीले त्यसलाई न सजाउन सकेका छौ, न हेरचाह गर्न नै ।

चीनले भएका कुरालाई व्यवस्थापन गरेको छ, नभएका कुरा पनि खोजेर ल्याउन सक्छ । हामीले भएका कुराहरु नै व्यवस्थापन गर्न सकेका छैनौं । प्राकृतिक सुन्दरतामा हामी निर्मम अतिक्रमण गरिरहेका छौं । हाम्रा प्रकृतिमा सजिएका गुराँस र चिमालहरु, बुकी र सुनाखरीहरु निर्मम अतिक्रमण खेपिरहेका छन् ।

म यति कुरा चाहिँ भन्छु– लुओयाङसंग दोलखाले मितेरी साइनो गाँस्न सक्यो भने कमसे कम प्रकृतिको सुन्दर उपहारलाई सजाउने कला चाहि सकिन्थ्यो कि ! चीनको एउटा विशेषता छ, उपहार दिने र पाएको उपहारको सम्मान र संरक्षण गर्ने । खै ! हाम्रो के विशेषता छ भनौं, उपहार दिनमात्र हैन पाएको उपहारको सम्मान र संरक्षण गर्न समेत चुकिरहेका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार